
नेपाल प्रहरीमा रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवाका लागि दुई डीआइजीको नाम सिफारिस भएको छ।
प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेको हो।
बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
शाही पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।
सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरीक्षकमा नियुक्त र अर्का एआइजी तारणीप्रसाद लम्साल ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुई दरबन्दी रिक्त थियो।
अब एक साताभित्र कुनै उजुरी नपरे सरकारले उनीहरुलाई एआईजीमा पदस्थापन गर्नेछ।
शाही र कार्की वर्तमान महानिरीक्षक शैलेश थापाकै ब्याची हुन्। उनीहरु एकैपटक डीआईजीमा बढुवा भएका थिए। तर एआईजी बढुवामा यो ब्याचबाट दुई जना पर्दा हरि पाल र शैलेश थापा बढुवा भए।
२०४९ वैशाख १९ मा नेपाल प्रहरीमा प्रवेश गरेका एउटै समूहका हरिबहादुर पाल यसअघि एआइजी भइसकेका छन्।
अब प्रहरीका आईजी र तीन एआईजी एउटै ब्याची हुनेछन्। बढुवा समितिको यो निर्णयसँगै भावि आईजीपी डीआईजीबाट सिधै बढुवा गर्नुपर्ने भएको छ। आईजीसँगै सबै एआईजी २२ महिनापछि अवकास हुने छन् ।
