Close Me
२९ माघ २०८१, मंगलवार

लिभरपुलको रोमाञ्चक जित, म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

liverpool 1

मोहम्मद सलाहले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले तालिकामा आठ अंकको अग्रता बनाएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि तीन-दुई गोलको रोमाञ्चक जित हात पारेको हो ।

साउथह्याम्पटको सेन्ट मेरिज रंगशालामा पाहुना टोली लिभरपुलले ३०औं मिनेटमा अग्रता लिएको थियो । साउथह्याम्पटनका फ्लाइन डअनेसले आफ्नै पेनाल्टी एरियामा दिएको पासमा डोमिकिन सोबस्लाईले गोल गरेका थिए । ४२औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो ।

लिभरपुलका एन्डी रबर्टसनले टेलर डिब्लिङलाई फाउल गरेपछि साउथह्याम्पटनले भिडियो एसिस्टेन्ट रेफ्रिको माध्यमबाट पेनाल्टी पाएको हो । एडम आम्स्ट्रङले प्रहार गरेको पेनाल्टी लिभरपुल गोलकिपर कुइभेन केलहले बचाएका थिए । तर रिबाउन्ड गोल भएपछि पहिलो हाफ एक-एकको बराबरीमा सकियो ।

५६औं मिनेटमा माटेयस फर्नान्डेसले गोल गरेपछि लिभरपुल पछि पर्‍यो । तर, सलाहले दुई गोल गर्दै लिभरपुललाई जित दिलाए । ६५औं मिनेटमा सलाहले खेल दुई-दुईको बराबरीमा पुर्‍याएका थिए । ८३औं मिनेटमा पेनाल्टीमा उनैले गोल गरेपछि लिभरपुल विजयी भएको हो ।

सलाहको जारी सिजनको लिगमा यो दशौं गोल हो । लिभरपुलको १२ खेलबाट ३१ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ । अन्तिम स्थानमा रहेको साउथह्याम्पटनको मात्र चार अंक छ ।

गस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड १८औं स्थानमा रहेको इपस्वीच टाउनसँग एक-एक गोलको बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा रुवेन आमोरिमको यो पहिलो खेल हो ।

घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिए पनि युनाइटेडले जोगाउन सकेन । खेल सुरु भएको ८१ सेकेन्डमै मार्कस र्‍यासफर्डसले गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । गोलकिपर आन्द्रे ओनानाले लियाम डिलापेको दुई प्रहार बचाएका थिए ।

तर ४३औं मिनेटमा युनाइटेडलाई गोल खानबाट भने जोगाउन सकेनन् । ओमारी हट्चिन्सनले बराबरी गोल फर्काए । दोस्रो हाफमा ओनानाले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेड २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग खेलिरहेको इपस्विचबाट जोगिएको थियो ।

१२औं स्थानमा रहेको युनाइटेडको १२ खेलबाट १६ अंक छ । इपस्वीच ९ अंक जोड्दै १८औं स्थानमा छ । इपस्वीचले सुरुवाती १० खेलमा हार बेहोरेको थियो । तर पछिल्ला दुई खेलबाट भने चार अंक जोडेको छ ।