२४ बैशाख २०८२, बुधबार

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनु हुँदैन : कांग्रेस प्रवक्ता महत

Prakashsharan Mahat
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने बताएका छन् । आज (शुक्रबार) कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले बीआरआईअन्तर्गतका परियोजना लिन नहुने भनेर नभनेको तर ऋणमा भने लिन नसकिने बताएका हुन् । बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै महतले समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरुमात्रै उल्लेख गरहेको बताए । उनले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने बताए ।

चीन सरकारले विगतमा घोषणा गरेको अनुदान सहयोग हालसम्म पनि कार्यान्वयनमा नआएको बताउँदै उनले तिनै परियोजनालाई बीआरआईअन्तर्गत बनाएर कार्यान्वयन गर्दा पनि नेपाललाई स्वीकार्य रहेको बताए ।

‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु छन् । कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमा नै धेरै प्रतिवद्धता गरेको चिनियाँ सरकारले कयौं वर्षदेखि कार्यान्वयन भएको छैन ।’ नेता महतले भने, ‘अनुदान नै कार्यान्वयन भएको छैन, ऋणको कुरा गरेर के अर्थ ? अहिले हामीलाई ऋणको भार पनि धेरै भएको छ । चिनियाँ सरकारसँग मात्रै होईन कि जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान हुँदैन । बीआरआईअन्तर्गत नै अनुदान कार्यान्वयन गरेपनि भयो । ऋण चाहीँ लिन हुँदैन ।’