२० बैशाख २०८२, शनिबार

रवि र बालेनको आडमा सरकारविरुद्ध अराजक गतिविधि गरिएको महेश बस्नेतको आरोप

Mahesh Basnet 2080.01 3
फाइल फोटो

प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले छिट्टै आफ्नो पार्टीले बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले मुलुकमा पछिल्लो समय विभिन्न प्रकारका अराजकता, उच्छृंखलता तथा सामाजिक सद्भाव भड्काउने र राष्ट्रिय एकता खलबलाउने काम भएको भन्दै त्यसविरुद्धमा बृहत शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

हिजो (बिहीबार) एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीको वडा अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देखापरेका जुनसुकै प्रकारका अराजकता, भ्रष्टाचार तथा समाजको एकताको विरुद्धमा हुने गतिविधिलाई निस्तेज पार्न एमाले पंती लाग्ने उद्घोष गरेका हुन् । अराजकता नियन्त्रण गर्न सरकारले विशेष कानुनको व्यवस्था गरी अराजक तत्वलाई समयमा नै सचेत गराउन जरुरी रहेको औंल्याउँदै बस्नेतले एमालेको लागि अराजकता र राष्ट्रिय हितविपरित हुनु कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिए ।

उनले भने,‘नयाँ शक्ति रवि वा बालेनको आडमा पछिल्लो समय समाजिक सञ्जाल तथा स्वदेश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा अराजकता बढ्दै गएको छ । चीन, भारत तथा अन्य शक्तिशाली मुलुकहरुको खेलमैदानको रुपमा नेपाललाई प्रयोग गर्ने जुन प्रकारको अराजक खेल खेलिरहेका छन् । महिला साफ फुटबल प्रतियोगितामा नेपाली महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नुभयो । त्यसलाई थप हौसला प्रदान गर्न प्रधानमन्त्री खेल हेर्न रंगशाला जानुभयो तर त्यहाँ योजनावद्ध रुपमा रवि तथा बालेनका आडमा सरकारविरुद्ध गतिविधिहरु गरी अराजक गतिविधिहरु गरिए । त्यसैले समयमा नै यस्ता प्रकारका अराजकलाई कानुनी तथा नैतिक उपचार गर्नुपर्छ । यसको लागि एमालेको संगठित पंतिले समाजदेखी नै नियन्त्रण गर्दै जानुपर्छ । सवै कुरा कानुनमात्र हैन, व्यवहारिक र सामाजिक मुल्यमान्यता अनुसार पनि गर्नुपर्छ । तपाईहरुले आजैबाट सोही अनुसार संगठित रुपमा कानुनलाई हातमा लिएर हैन, साथमा लिएर अराजकताको अन्त्य गर्न लाग्नुस् । यीनिहरुलाई सिंगो समाजले नियन्त्रण गर्नुपर्छ, प्रतिवाद गर्नुपर्छ । त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्छ । तसर्थः एमालेले आगामी मंसिरमा काठमाडौँ केन्द्रीत रहेर अराजकता, सामाजिक मूल्यमान्यता विपरितका गतिविधि तथा राष्ट्रिय हितका विरुद्धमा हुने सवै प्रकारका गतिविधिहरुको विरुद्धमा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गर्दैछ ।’

भक्तपुर एमालेभित्र गुट र उपगुट गर्ने छुट कसैलाई नभएको उनको चेतावनी छ । एमाले भक्तपुरको इन्चार्ज समेत रहेका नेता बस्नेतले भक्तपुको विकास र समृद्धिको ठेक्का एमालेले नै लिएको स्पष्ट पारे । एमालेले जितेर गरेका कामहरु जहाँ पुगेका थिए अहिले सोही अवस्थामा रहेको उल्लेख गर्दै उनले एमालेले जीतेको स्थानीय र प्रदेश सरकारबाट राम्रै बजेट तथा विकास काम भएता पनि संघीय सरकारको तर्फबाट निर्वाचित सांसदले कटुञ्जेमा एक रुपैंया पनि बजेट ल्याउन नसकेको दावी गरे ।

उनले भने,‘पहिले काम गर्ने खेतालाले कति बज्यो बाबु ? भनेर सोध्ने गर्दथे, अहिले तीन बज्यो भन्यो भने कहिले दिन जाला, मलाई त वाक्का लागिसक्यो भन्थे, अहिलेका संघीय सांसदलाई आफ्नो त्यस्तै भएको छ, कहिले अब तीन वर्ष वित्छ भनेर । जनताको कामको त कुरै नगरौं, तिनले न त जनताको आवाज उठाउँछन्, न त विकास नै गर्छन, तर हामी एमालेले विकास गर्छौ, विगतको इतिहास हेरे पुग्छ ।’ कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, एमाले बागमती प्रदेश सदस्य शशीजंग थापा, दिपक विसुङ्के लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

    सम्बन्धित समाचार...