नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार आफै कुहिएर ढल्ने बताएका छन् । उनले सरकार ढाल्न नभई खबरदारी गर्न माओवादी सडकमा आएको उनको भनाइ थियो ।
शनिबार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्दै गर्दा अहिलेको सरकार कुहिएर झर्ने बताएका हुन् ।
प्रचण्डले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगरे संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने दाबी गरे । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उनको भनाइ थियो ।
यसै क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको बताए । उनले आफूहरू प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भनेर नआउने टिप्पणी गरे ।
उनले आफूहरू भ्रष्ट पार्टीसँगै तिनका नेताहरूसँग सहकार्य गरेर गल्ती गरेको भन्दै आमनागरिकले माओवादीलाई माफी दिने विश्वास लिए ।