ललितपुरको सातदोबाटोमा शनिबार साँझ बसमा आगलागी भएको छ । बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगर १५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले जानकारी दिए ।
सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनको भनाइ थियो ।
बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।