७ बैशाख २०८१, शुक्रबार

सिभिल मलले नौ दिन भित्र ४ महिनाको शुल्क अनिवार्य बुझाउन ताकेता, व्यवसायीले पसलको चाबी बुझाए (भिडियो सहित)

civil mall traders press release

सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् ।

पसल बन्द रहेको अवस्थामा समेत सिभिल मल सञ्चालकले भाडा तिर्न दबाब दिएपछि व्यापारीले चाबी बुझाएका छन्। सिभिल मल व्यापार संघले तीन महिनादेखी बन्द रहेको मलको भाडा तिर्न लिखित र मौखिक रुपमा दवाव दिएको भन्दै चाबी बुझाएको हो।

शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएका हुन् ।

संघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सरकारले कर तिर्न ताकेता गर्नु, सावा ब्याज भुक्तानी गर्न व्यापारीलाई बैंकले दबाव गर्नु, बन्द अवधिको पनि कर्मचारीलाई तलब दिनुपर्ने र पसल भाडा तिर्नुपर्ने हामीलाई दबाव छ।’

नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि बोहनी समेत हुन नसकेको सिभिल मल व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा संघ र सञ्चालकबीच आपसी समझदारीमा यो विषय टुङ्ग्याउनु पर्नेमा आफूहरुको माग सुनुवाइ नगरी असार २५ भित्र भाडा वहाल रकम भुक्तानी नभए थप विलम्ब लाग्ने लिखित र मौखिक दबाब दिइएको उनीहरुको आरोप छ ।

civil mall notice 1

असार १ देखी पसल खोलेपनि बोहोनी समेत गर्न नसकेको भन्दै आम्दानी नै नभएको र भोलिको दिनमा पनि व्यापारको वातावरण नभएर भाडा तिर्न नसक्ने हुँदा चाबी बुझाइएको संघले जनाएको छ।

मल सञ्चालकले व्यापारीहरुलाई पत्राचार गरी चाँडै भाडा भुक्तानी गर्न दवाब दिएको थियो ।सञ्चालकले असार २५ गते भाडा नतिरे बिलम्ब शुल्क लाग्ने चेतावनी दिएको संघले जानकारी दिएको छ।

एक रुपैयाँ आम्दानी नभएको र भोलिका दिनमा व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नहुने निश्चित रहेको अवस्थामा कहाँबाट लाखौँ रकम ल्याएर दिन सकिन्छ भन्ने उनीहरुको प्रश्न रहेको छ । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।

‘हाम्रो पनि व्यापार हो, मल सञ्चालकको पनि व्यापार हो’ उनले भने, ‘हामीले ५० प्रतिशत भाडा दिँदा मल सञ्चालकले ५० प्रतिशत फाइदा कमाउँछ तर हामी १५० प्रतिशत घाटामा जान्छौं, यस्तो समयमा कसैले कमाउने अनि कोही चाहिँ खान नपाएर भोकले मर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।’

मलमा मासिक ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायी रहेका छन् । ‘८ लाख भाडा तिर्नेको २५ हजारको पनि व्यापार भएको छैन, कसरी भाडा तिर्नु ?’ अध्यक्ष घिमिरेले भने ।

मल सञ्चालकले पूर्ण लकडाउन भएको अवधिको ५० प्रतिशत भाडा छुट गर्ने जनाएको छ । तर उक्त भाडा २५ असारमा तिर्नुपर्ने म्याद दिएको थियो । ‘पूर्ण लकडाउन अवधिको ५० प्रतिशत छुट दिने भनिएको छ, तर २५ असारसम्म नतिरे त्यो छुट पनि २५ प्रतिशतमा झार्ने भनेर सञ्चालकले दवाव दिनुभएको छ’ उनले भने, ‘२५ असार हिजै सकियो, व्यापार एक हजारको भएको छैन यस्तो निर्णयमा राजी हुन सकिदैन ।’

व्यवसायीले पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुट हुनुपर्ने माग गर्दै सिभिल मल अगाडि धर्ना दिएका छन् ।

पूर्ण लकडाउन अवधिको भाडा शतप्रतिशत छुट नभएसम्म आन्दोलन जारी राखिने अध्यक्ष घिमिरेले बताए ।

civil mall traders

    सम्बन्धित समाचार...