१६ चैत्र २०८०, शुक्रबार

सराङकोटमा जन्मदिन मनाइरहेकाहरू पहिरोमा पुरिए

bulkute landslide after heavy rain
फाइल फोटो

पोखरा महानगरपालिका-१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन्। घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा-१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डाक्टर असिम सुवेदीले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ। गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो।

पिङ्की थापाको जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए। तनहुँकी सरस्वती दुई छोरासहित दिदीको घरमा आएकी थिइन्। पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। रासस

    सम्बन्धित समाचार...