११ बैशाख २०८१, मंगलवार

भोलिदेखी सार्वजनिक यातायात चल्ने, ५० प्रतिशत भाडा वृद्धी

Buspark
फाइल फोटो

आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार (भोलि)शुक्रबारबाट सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराए ।

एउटै जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक सवारी साधनलाई आवश्यक मापदण्ड पूरा गरेर सञ्चालन अनुमती दिइएको हो । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।

यसरि संचालन गर्दा एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ भने ट्याक्सीमा दुई जनासम्म मात्र बोक्न पाइनेछ । भाडादर भने हाल चल्तीको भन्दा ५० प्रतिशतसम्म बढी लिन पाउने निर्णय भएको पनि सरकारले जनाएको छ ।

सवारी चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ । साथै गाडीमै स्यानिटाइजरको अनिवार्य व्यवस्था पनि गर्नुपर्ने छ भने यात्रुहरुलाई पनि माक्स प्रयोग अनिवार्य गरिएको छ ।

लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने हाल सञ्चालन गर्न दिइने छैन ।