१२ बैशाख २०८१, बुधबार

भारत र चीन दाँज्दै योगेश भट्टराईको प्रश्न “विग्रह ल्याउन खोज्ने ठीक कि मिलाउन खोज्ने ?”

yogesh bhattarai

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गरेका छन् । उनले कुनै पनि वैदेशिक सुझाव र गतिविधि सुन्न सकिने तर निर्क्यौल गर्ने अधिकार आफैमा भर पर्ने बताएका छन् ।

नेपालका छिमेकी राष्ट्रका गतिविधिलाई तुलना गरेका उनले भारततर्फ ईंगित गर्दै विग्रह ल्याउने तर चीनलाई भने समाधानमुखी भएको टिप्पणी गरेका छन् । उनले भारतले ‘फुटाउ र राज गर’को नीति अख्तियार गरेको र चीनले सहमति, एकता र सद्भावमा ध्यान दिएको बताएका छन्।

पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै गएका बेला चिनियाँ राजदूतको सक्रियता बढेपछि आएका प्रतिक्रियाको जवाफ दिँदै मन्त्री भट्टराईले आफ्नो भन्नै सामाजिक सन्जाल मार्फत राखेका छन ।

प्रश्नगत रुपम हेर्ने हो भने पहिलो प्रश्नमा उनले भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) लाई इँगित गरेको बुझ्न सकिन्छ । संविधान घोषणा हुने बेलामा एस जयशंकरले नेपालमै आएर नेताहरुलाई भेटेर दवाव दिएका थिए ।

दोस्रो बुँदामा मन्त्री भट्टराईले अर्को प्रश्न सोधेका छन्, ‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’

तेस्रो बुँदामा उनले नाकाबन्दीको प्रसंग उल्लेख गरेका छन् । उनि भन्छन ‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’

चौथो बुँदामा मन्त्री भट्टराई लेख्छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?

उनले अन्त्यमा भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतले नेकपा नेताहरुसँग गरेको भेटघाटप्रति असन्तुष्टि व्यक्त गर्दै स्टाटस लेखेका थिए ।