११ बैशाख २०८१, मंगलवार

काठमाडौंका यी २३ ठाउँहरुमा कोरोना संक्रमित भेटिए

corona virus illustration

उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको थियो।

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा संक्रमण भेटिएको उनले जानकारी दिए। काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको थियो।

विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए । मंगलबार देशभर २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कूल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । देशभरका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।

सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवती महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ ।