टी-२० विश्वकपमा भारतको विजयी शुरुवात

भारतले सहज जितसहित आफ्नो आईसीसी टी-२० विश्वकप अभियानको सुरुवात गरेको छ । आयरल्यान्डविरुद्धको पहिलो खेलमा भारतले ८ विकेटको जित हासिल गरेको हो । न्युयोर्कको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेका थिए । भारतीय बलरले आयरिश टिमलाई १२ ओभर २ बलमा ९६ रनमा अलआउट गरे ।
रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ६ सय छक्का प्रहार गरे । उनले टी-२० अन्तर्राष्ट्रियमा ४ हजार रन बनाउन सबैभन्दा कम बल खर्चिए र टी-२० विश्वकपमा एक हजार रन समेत पूरा गरे ।
आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे । कर्टिस क्याम्फरले १२ रन बनाए । भारतका हार्दिक पान्ड्याले ३ विकेट लिए । जस्पृत बुम्राह र अर्शदिप सिंहको नाममा २-२ विकेट रह्यो ।
आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२ दशमलव २ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पहिलो ओभरमा बलबर्नीले स्लिपमा रोहित शर्माको क्याच छोडे । यो गल्ती आयरल्यान्डका लागि महंगो सावित भयो । टी-२० विश्वकपमा पहिलो पटक ओपनिङ गरेका विराट कोहली १ रनमा आउट भए । रोहित शर्मा ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गर्दै रिटायर्ड हर्ट भए ।
सूर्यकुमार यादवले पनि २ रन मात्र जोड्न सके । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे । आयरल्यान्डका लागि मार्क एडेयर र बेन ह्वाइटले १-१ विकेट लिए । यस जितले भारत समूह एको शीर्ष स्थानमा पुगेको छ । उसले १ खेलमा २ अंक जोडेको छ । समान अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । पराजित आयरल्यान्ड पुछारमा छ ।