७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा ओली प्रचण्डको वान टु वान वार्ता, आवश्यक परे दोश्रो तहका नेताहरू भन्दा दुई वरिष्ठ नेतालाई राख्ने

Prachanda K P Oli 20180604 402 602
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्केको आन्तरिक कलह व्यवस्थापनको प्रयासस्वरुप अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘वान टु वान’ वार्ता सकिएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच करिब डेढ घण्टा चलेको ‘वान टु वान’ वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको छ भने साक्षीका रूपमा कोही थिएनन् ।

भेटवार्तामा तिक्तता, असमझदारी मेटाएर सहमतिको विन्दु खोज्नेबारे सघन छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि वार्ता सकारात्मक दिशामा अघि बढेको र विषयले प्रवेश पाएको जानकारी दिए । आजबाट विषयमा आधारित भएर छलफल सुरु भएको छ र संवादलाई निरन्तरता दिन भोलि पनि बैठक बस्ने सहमति भएको उनले बताए ।

नेकपाका एक सचिवालय सदस्य भन्छन “छलफलको सुरुवात भएको छ, नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको छ ।” “वार्तालाई निरन्तरता दिने र त्यसका लागि मंगलबार पुनः बस्ने कुरा भएको छ ।”

छलफलका लागि आवश्यक परेमा दोश्रो तहका नेताहरू भन्दा पार्टीका वरिष्ठ नेताहरुलाई राख्ने विषयमा कुराकानी भएको बुझिएको छ । विवाद चर्किदै जाँदा दोस्रो तहका नेताहरुको सक्रीएता बढेको थियो ।

यसअघी आइतबारको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन र जनार्दन शर्मा समेत साक्षीका रूपमा उपस्थित थिए । बैठक सकिएपछि उनीहरू सम्मिलित कार्यदल गठन भएको हल्लाले समाचार माध्यममा राम्रै स्थान पाएको थियो ।

त्यसप्रति अध्यक्ष प्रचण्ड ‘संवेदनशील’ रहेको उनको सचिवालयले जनाएको छ । “कार्यदल बनेको छैन । कसरी आयो ? यसप्रति अध्यक्ष प्रचण्ड संवेदनशील हुनुहुन्छ |”

सापकोटाले भने, “आज दुई अध्यक्षबीच यसबारेमा कुरा भएको छ । अब बैठकमा कुनै पनि साक्षी, सहयोगी नराख्ने, एक्लाएक्लै वार्तामा बस्ने र आवश्यक परे दुई वरिष्ठ नेतालाई राख्ने समझदारी भएको छ ।”

स्थायी समिति बैठक

यसैबीच नेकपाको आन्तरिक झगडा साम्य पार्ने उद्देश्यले यसअघि नै तय भएको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीमा आन्तरिक झगडा चर्कदै गएपछि पार्टी एकता बचाउन पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरुले दवावा दिँदै आएका छन् । नेताहरुको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु सक्रिय भएका हुन् । त्यसका लागि उनीहरुले दुवै पक्षका शीर्ष नेताहरुलाई भेट्नेदेखि धर्ना र भेला गर्दै आएका छन् ।

गत असार १४ गते प्रधानमन्त्री केपी ओलीले भारतको योजनामा आफूलाई हटाउन लागेको अभिव्यक्ति दिएपछि पहिलाबाटै चलिरहेको नेकपाको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको थियो ।

यसक्रममा नेताहरुले ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्ने अडान राखेका थिए भने ओली कुनैपनि हालतमा कुनै पदबाट राजीनामा नदिने अडान दोहोर्याउदै आएका छन् ।