नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । यस्तै डिजेल र मट्टितेलमा भने प्रतिलिटर १/१ रुपैयाँले घटेको छ ।
निगमको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ ।
यसअघि उपत्यकामा पेट्रोलको १७१ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ थियो ।
निगमका अनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ । निगमले हवाई इन्धन र खाना बनाउने ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको जनाएको छ ।