Close Me
१३ माघ २०८१, आईतवार

सत्ता गठबन्धन दलहरुबीच बढ्दै अविश्वास, कांग्रेस समीकरण भत्काउने दाउमा !

gatbandan

सहकारीका समस्या छानबिन गर्न संसदीय समिति गठन भएसँगै नेपाली कांग्रेसले गर्दै आएको संसद्‌को गतिरोध अन्त्य भएको छ । तर के यसले वर्तमान सत्ता गठबन्धनमा देखिएको संकट तथा नयाँ गठबन्धन बनाउन भइरहेको प्रयासलाई अन्त्य गर्यो त ? यो प्रश्न जीवितै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धन छाडेर जानुहु्न्न भन्ने अभिव्यक्ति दिएपछि गठबन्धनभित्रको आशंका बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बूढानीलकण्ठमै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे, सहकारी समस्या छानबिन गर्न सबै दल सहमत हुनु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी हुनुलाई राजनीतिमा अर्थपूर्ण मानिएको छ ।

अहिले पनि सत्तारुढ दलहरुबीच एकमत छैन भन्ने उदाहरणका रुपमा माधवकुमार नेपालले विपक्षीहरुको बैठकमा सहभागी हुनुलाई लिन सकिन्छ । किनकि सहकारी प्रकरणलाई लिएर बढेको अविश्वास र आशंका कायमै छ ।

गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिनको दायरामा ल्याउने कि नल्याउनेमा देखिएको दलहरुबीचको विवाद केही हदसम्म साम्य भयो । तर समितिले काम सुरु गरेपछि यही विषयलाई लिएर फेरि विवाद बढ्ने सम्भावना छ । समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख नगर्ने सहमति भए पनि गोर्खा मिडियाबारे छानबिन गर्न सक्ने अख्तियारी समितिलाई छ ।

अब गोर्खा मिडियाको छानबिन गर्दा कांग्रेसले लामिछानेलाई मुछ्न सक्छ । तर यो सत्तारुढ नेकपा एमालेलाई मान्य हुने देखिँदैन । किनकि लामिछानेमाथि छानबिन सुरु हुनेबित्तिकै गठबन्धन धरापमा पर्न सक्छ ।

अर्कोतर्फ नेपाली कांग्रेस जसरी पनि सत्तासमीकरण भत्काउने दाउमा छ । सहकारी छानबिन प्रकरणमा प्रधानमन्त्री दाहालले खेलेको पछिल्लो भूमिकालाई लिएर कांग्रेस उहाँसँग नजिकिएको छ । उसले सत्ता गठबन्धनकै एकीकृत समाजवादीलाई फकाउने प्रयास पनि जारी राखेको छ । माओवादी केन्द्रसँग सत्ता सहकार्य हुन सक्ने कांग्रेसका नेताहरुको भनाइले पनि गठबन्धन भित्र गडबड छ भन्ने संकेत दिन्छ ।

त्यसो त सहकारी प्रकरण छानबिनको विषयमा कांग्रेस र एमालेका नेताहरुबीच आरोप-प्रत्यारोप नै चलेका बेला माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता मौन देखिए । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई त प्रधानमन्त्रीको अफरसम्म गरिएको घटनाले सत्ता समीकरणका दलहरु नै एकठाउँमा छैनन् भन्ने देखाउँछ । एकीकृत समाजवादीका नेता झलनाथ खनाल बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग संवाद गर्नुभयो ।

सत्ता समीकरणभित्रै बेमेलका कारण जसपा नेपाल विभाजित हुन पुगेको घटनाले पनि राजनीतिक कोर्सले विश्राम लिएको मान्न सकिन्न । राजनीतिभित्रका खेल अझै बाँकी छन् भन्ने दलहरुको व्यवहार र घटनाक्रमले नै पुष्टि गर्दै आएको छ । संसद्‌मा अहिले कुनै पनि दलको प्रस्ट बहुमत छैन ।

१७ महिनाकै अवधिमा तीनपटक राजनीतिक समीकरण फेरिइसकेको छ भने चारपटक प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छ । राजनीतिक तरलताको अवस्थामा जुनसुकै बेला पनि समीकरण परिवर्तन हुन सक्ने डर सबै दललाई छ । तर पनि सत्तामा रहेका दलहरु यसलाई स्वीकार गर्दैनन् ।

दाहाल नेतृत्वमै सरकारमा रहेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले केही महिनाभित्रै माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्ने दाबी गरिरहनुले पनि यो गठबन्धनभित्र गडबड छ भन्ने देखाउँछ ।

संसद्को ठूलो दल कांग्रेस सरकारबाट बाहिरिएपछि यो समीकरण भत्काउने रणनीतिमा छ । अर्कोतर्फ प्रधानमन्त्री दाहालकै शब्दलाई सापटी लिएर भन्ने हो भने उहाँ बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ र सत्ता टिकाउन अनेक गरिरहनुहुन्छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिले पनि दलहरुबीच सधैं अविश्वासको वातावरण सिर्जना गरिरहेको छ ।