
इजरायलको आक्रमणबाट गएको २४ घण्टामा गाजामा करिब ८० जनाको निधन भएको छ । इजरायलले रफाह र जाबालियामा गरेको हवाई र स्थल आक्रमणमा परि करिब ९० भन्दा बढी घाइते भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
इजरायलले मे ६ देखि आक्रमणलाई तिव्रता दिएपछि रफाह क्षेत्रमा शरण लिएर बसेका करिब ६ लाख बढी शरणार्थी सुरक्षित स्थानमा पलायन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संघर्षविराम निष्कर्षविहीन भएपछि दुवै पक्षबीचको युद्ध झन विकराल बन्दै गएको बताइएको छ । यसैबीच इजरायली सेनाले मानवीय सहायता बोकेका ट्रकहरुलाई समेत गाजा प्रवेशमा कठिनाई भोग्नु परेको बताइएको छ । यसकारण त्यहाँका बासिन्दाहरु खाना र पानीको अभाव झेलिरहेको अन्तर्राष्ट्रिय रेस्क्यू कमिटिले जनाएको छ ।
यसैबीच हिजो इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक भिडियो जारी गर्दै गाजाको भविष्यको निम्ति हमासलाई परास्त गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । गत साता संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता प्रदान गर्न योग्य ठहर गरेको विषयमा समेत उनले आपत्ती जनाएका छन् ।
हिजो मात्र अमेरिका राष्ट्रपति जो बाइडेन प्रशासनले इजरायलका लागि थप एक अर्बको सैन्य सहायता दिने विषयमा खुलेको छ । ह्वाइट हाउसले उक्त विषयमा अमेरिकी कांग्रेसलाई जानकारी गराइसकेको छ ।