
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।
सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
संघीय संसद्का सबै सदस्यलाई २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भएर आफ्नो आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचना जारी गरेको छ ।
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको बताए ।
कांग्रेस संसदीय दलको बैठक जारी
नेपाली कांग्रेस संसदीय कार्यसमितिको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकमा समसामयिक राजनीतिका साथै सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विरोध जनाउने वा समर्थन गर्ने भन्नेबारेमा छलफल हुँदै छ ।
कांग्रेसले उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक सहज ढंगले अघि बढ्न नदिने अडान राख्दै आएको कांग्रेस आज भने के गर्छ- त्यो बैठकले नै निर्णय गर्ने छ ।