
सत्तारुढ दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा रहेको नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने भएको छ ।
समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सुदूरपश्चिममा दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बाएका हुन् ।
गए राति ओली निवासमा अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले भेटेर विश्वासको मत दिने/नदिने विषयमा छलफल गरेका थिए ।
अध्यक्ष ओलीले छलफलमा विश्वासको मत नदिनका लागि नेताहरुलाई निर्देशन दिएका हुन् । ‘छलफलका क्रममा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न भन्नुभएको छ,’ एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले भने ।
समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ । यसअघि शुक्रबार र शनिबार विश्वासको मत लिनका लागि मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभा बैठक बोलाएका थिए । तर, बैठकमा एमालेले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ ।