१५ बैशाख २०८१, शनिबार

एक साताको यात्रा चार घण्टामा

ro
डुम्रे-बेसिसहर-चामे सडक अन्तर्गत तनहुँ खण्डमा कालोपत्र गरिँदै । तस्बिर : रासस

डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो ।

सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि अहिले यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउजाउ गर्न सकिन्छ । जिल्लाको सबैभन्दा टाढाका मानिने सीखोला गाउँपालिका ५ र ६ का बस्तीलाई अहिले सडकले नजिक बनाएको छ ।

पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले पुरै स्वरुप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौँ गाडी गुड्न थालेका छन् । लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन् । लोकमार्ग वरपरका खाली जग्गामा धमाधम भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । हजारौँ नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दङ्ग छन् ।

स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताए । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झण्डै एक महिना बिताउनु परेको स्मरण गर्दै अहिले सबै काम बुर्तिवाङमा हुन थालेको उनले सुनाए । लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै उनले अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताए ।

‘विकास हुन धेरै समय लाग्दो रहेनछ, यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन,’ पुन मगरले भने, ‘उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घण्टामै पुगिन्छ, म छक्क परेको छु । हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा पाएनन्, बुढेसकालमा भए पनि हामीले पायौँ ।’

स्थानीय सुन्तली सुनारले लोकमार्गले गर्दा गाउँमा ठूलो परिवर्तन आएको बताइन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा कुनै पनि पक्की भवन नभएको भन्दै उनले अहिले धमाधम पक्की भवन, सडक र विद्यालय बन्न थालेको सुनाए । पाँच वर्ष अगाडिसम्म आफ्नो ठाउँमा कच्ची घर रहेकामा अहिले बजारबाट सिमेन्ट छडलगायत सामग्री सहजरुपमा ढुवानी गरेर पक्की भवन बन्न थालेका उनले बताइन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको मालढुङ्गादेखि रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । यो मार्ग कालोपत्र भएपछि निसीखोला क्षेत्रमा ठूलो परिवर्तन आएको छ ।

    सम्बन्धित समाचार...