१५ बैशाख २०८१, शनिबार

स्तब्ध बन्यो साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग

manchester city vs aston villa

साविक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगमा एस्टन भिल्लासँग १ – ० गोलले स्तब्ध भएको छ ।

एस्टन भिल्लाको मैदानमा गएराति नै भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पेप ग्वार्डिवालको टोलीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । तर खेल सकिन १६ मिनेट बाँकी हुँदा घरेलु टोलीले डेडलक तोड्यो । ७४ औं मिनेटमा लियोन बेलीको प्रहार गोलमा परिणत भएपछि सिटी १ – ० गोलले पछि रहेको थियो । बेलीको प्रहारमा सिटीका गोलकिपर एन्डरसनले केही गर्ने मौकासमेत पाएनन् । बाँकी समयमा अर्लिङ हालान्ड सम्मिलित सिटीले पुनरागमन गर्न सकेन र तीन अंक गुमायो ।

बेलीको यो सिजन प्रिमियर लिगमा पाँचौ गोल हो । उत्कृष्ट प्रदर्शन गरेको भिल्लाले खेल अवधिभर २२ पटक प्रहार गरेको थियो । घरेलु मैदानमा भिल्लाको प्रिमियर लिगमा यो लगातार १४ औं जित हो । तेस्रो स्थानमा उक्लिएको भिल्लाको १५ खेलबाट ३२ अंक छ । चौथो स्थानको सिटीको ३० अंक छ ।

लिगका अन्य खेलमा ब्राइटनले ब्रेन्टफर्डलाई २ – १ गोलले हरायो । बर्नमाउथले क्रिस्टल प्यालेसमाथि २ – ० गोलको जित हात पार्दा फुलहमले नटिङघम फरेस्टलाई ५ – ० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

    सम्बन्धित समाचार...