१५ बैशाख २०८१, शनिबार

ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

au

आइसिसी विश्वकप २०२३ क्रिकेटमा ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको तुफानी पारिको मद्दतले अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ ।

फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराएको हो । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ ।

मुम्बइको वानखडे स्टेडियममा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुआत एकदमै खराब भएको थियो ।

जितको लागि २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अविजित रहे । म्याक्सवेल घाइते हुँदा सिंगल लिन नसकेपनि चौका र छक्का हान्दै एक रुपमा खेल जिताएका हुन् । एक समय ९१-७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए ।

आठौं विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरे । प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहे ।

image 48

चार रन बनाउँदा अस्ट्रेलियाले पहिलो विकेट गुमायो । ओपनर ट्रविस हेड नविन उल हकको दोस्रो ओभरको दोस्रो बलमै एज लागेर शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि डेविड वार्नर र मिचेल मार्शले ३९ रनको साझेदारी गरेका थिए । मार्श नविन उल हकको बलमा २४ रनमा एलबीडब्लू आउट भए । मार्शले ११ बलमा २ चौका र २ छक्का हानेका थिए । त्यो समय अष्ट्रेलिया ५.४ ओभरमा ४३(२ को अवस्थामा थियो ।

नवौं ओभरको पहिलो बलमा ओमरजाईले वार्नरलाई १८ रनमा बोल्ड गरे । लगत्तै अर्को बलमा विकेटकिपर जोश इंग्लिस क्याच आउट भएपछि अष्ट्रेलिया ८.२ ओभरमा ४९(४ को अवस्थामा पुगेको थियो । १५ औं ओभरको पहिलो बलमा मार्नस लाबुसेन १४ रनमा रन आउट भए । मार्कस स्टोइनिस ६ र मिचेल स्टार्क ३ रनमा राशिद खानको बलमा आउट भएपछि अष्ट्रेलिया १८.३ ओभरमा ९१(७ को अवस्थामा पुगेको थियो ।

त्यसपछि ग्लेन म्याक्सवेल र प्याट कमिन्सको जोडीले अविश्वसनीय साझेदारीमा जित दिलाएका थिए । अफगानिस्तानका राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले दुई दुई विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जद्रान १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे । जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका थिए ।

जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए ।

ओमरजाईले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । राशिद खान १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे । छैटौं विकेटका लागि राशिद खान र जद्रानले २८ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए । अष्टेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो ।