२० बैशाख २०८१, बिहीबार

न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

1698499317 6258

आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध पाँच रनको जित दर्ता गरेको छ। अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ८३ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको अस्ट्रेलियाका लागि डेबिड वार्नर र ट्रेभिस हेडले पावर प्लेमा १ सय १८ रन बनाए । उनीहरुले १ सय ७५ रनको साझेदारी गरे। ग्लेन फिलिप्सले २०‌ औं ओभरमा वार्नरलाई कट एन्ड बोल्ड गर्दै साझेदारी तोडेका थिए। वार्नरले ६५ बलमा ८१ रन बनाए । जारी विश्वकपमा पहिलो खेल खेलेका ट्रेभिस हेडले ५९ बलमा शतक पूरा गरे। उनी १०९ रन बनाएर पवेलियन फर्किए । उनलाई फिलिप्सले बोल्ड गरे।

तेस्रो नम्बरका मिचेल मार्सले ३६ रन बनाए। स्टेभेन स्मिथ र मार्नुस लाबुसेन समान १८-१८ रनमा आउट भए। ग्लेन म्याक्सवेलले ४० रन बनाउँदा जोश इंग्लिस सैंतिस रनमा एलबीडब्लु धरापमा परे। बलिङमा कमजोर सुरुवात गरे पनि न्युजिल्यान्डका फिलिप्स र ट्रेन्ट बोल्टले समान तीन-तीन विकेट लिए। मिचेल सान्टनरले दुई विकेट लिए।

भारतको धर्मशाला क्रिकेट रंगशालामा जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका डेवोन कन्वे २८ र विल योङ ३२ रनमा आउट भए। दुवै ओपनरलाई जोश हाज्लेवुडले पवेलियन फर्काएका थिए। डर्‍याल मिचेलले ५४, कप्तान टम लाथमले २१ रन बनाएका थिए। जेम्स निशम ५८ रनमा रनआउट भएका थिए। रचिन रविन्द्रले एक सय १६ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। उनलाई पट कमिन्सले पवेलियनको बाटो देखाइदिए।

न्युजिल्यान्डले डेथ ओभरमा राम्रो प्रदर्शन गरे पनि मध्यक्रममा चुकेपछि लक्ष्यमा पुग्न नसकेको हो। जम्पाले न्युजिल्यान्डका महत्वपूर्ण तीन विकेट लिए। त्यसैगरी पट कमिन्सले दुई र म्याक्सवेलले एक विकेट विकेट गिराए। यो खेलसँगै न्युजिल्यान्ड र अस्ट्रेलियाको समान आठ अंक भएको छ। दक्षिण अफ्रिका र भारतको समान १० अंक छ । विश्वकपमा सानदार सुरुवात गरेको न्युजिल्यान्डले पछिल्लो खेलमा भारतसँग पनि हार ब्यहोरेको थियो।

    सम्बन्धित समाचार...