१६ बैशाख २०८१, आईतवार

चारदिने भ्रमणका लागि भोलि नेपाल आउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस

antonio guterres un secretary genera

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमणका लागि भोलि काठमाडौ आउँदै छन् । नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले उनको नेपाल भ्रमणका एजेन्डा र कार्यतालिका टुंगो लगाएको छ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत हुन् । महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरू तय भइसकेको जानकारी दिएका छन् ।

महासचिव गुटेरेस आइतबार राति १ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछन् । उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री साउदले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महासचिव होटेल जानेछन् । उनले दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् ।

महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् । त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् । कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ ।

कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने उनको कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ ।

    सम्बन्धित समाचार...