२३ बैशाख २०८१, आईतवार

अनमोलले फिर्ता गरे ‘रावायण’का निर्माताबाट लिएको १० लाख

anmol kc

सुदर्शन थापाको निर्देशनमा फिल्म ‘रावायण’मा काम गर्ने भनेर अभिनेता अनमोल केसीले गत साउनमा पेश्कीबापतको १० लाखको चेक बुझेका थिए । तर, दुवै पक्षबीच कागजी सम्झौता भएको थिएन । विश्वासको भरमा काम अगाडि बढेको थियो । जब निर्देशक थापा सुटिङमा निस्कन तयार भए तब अनमोल काम गर्न मानेनन् । त्यसपछि उत्पन्न भएको विवाद प्रहरी हुँदै अदालतसम्म पुग्यो ।

सुदर्शनकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले असोज ८ गते आपराधिक विश्वासघातको आरोपमा १ करोड १५ लाख क्षतिपूर्ति माग गर्दै अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा असोज १२ गते उनी पक्राउ परे । असोज १४ गते प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गर्‍यो । रिहा भएकै भोलिपल्ट अनमोलले निर्मातालाई आफूले लिएको १० लाख फिर्ता गरेका छन् ।

उनका म्यानेजर भनिने निराजन गिरीले सोमबार ‘रावायण’की निर्मात्री चन्द्रकला कटुवाल (सुप्रिया)को बैंक खातामा मंगलबार रकम जम्मा हुने गरी चेक डिपोजिट गरेका छन् । पक्राउपछि प्रहरीसँगको बयानमा भने अनमोलले स्क्रिप्ट चित्त नबुझेकाले फिल्ममा काम गर्न अस्वीकार गरेको र आफूले लिएको पेश्कीबापतको १० लाख फिर्ता गर्न खोज्दा समेत निर्माताले लिन नमानेको बताएका थिए ।

अनमोलले निर्मातालाई पैसा फिर्ता गरे पनि तनाव ज्यूँकात्यूँ छ । प्रहरीमा बकाइदा उजुरी परेकाले छलफलका लागि उनी जुनसुकै बेला उपस्थित हुनुपर्नेछ । यही सर्तमा उनलाई प्रहरीले रिहा गरेको हो । उनी अनुमतिबिना देश छाडेर समेत जान पाउने छैनन् । निर्माताले १ करोड १५ लाख क्षतिपूर्ति माग गरेकाले यो विषयमा छिनोफानो गर्न अब प्रहरीले दुवै पक्षसँग सहमतिको प्रयास गर्नेछ ।

    सम्बन्धित समाचार...