२० बैशाख २०८१, बिहीबार

दुर्लभ जितसँगै नेपालको एकै खेलमा १३ कीर्तिमान

Dipendra singh airee kushal malla

नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको दुर्लभ जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियामाथि नेपालले विश्व कीर्तिमानको वर्षा गराएको छ । नेपालले टि२० आईका लगभग सबै प्रमुख कीर्तिमान तोडेको छ ।

नेपालले अविश्वसनीय र कहिल्यै नतोडिने विश्व कीतिमान पनि त्यतिनै बनाएको छ । नेपालले एकै खेलमा ६ विश्व कीर्तिमान बनाएको छ । समग्रममा मंगोलियाविरुद्ध बनाएको कीर्तिमानहरु यस प्रकार छन् ।

१३. ओडिआई र टि२० आई दुबैमा छिटो शतक

कुशल नेपालबाट ओडिआई र टि२० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए ।

यसअघि टि२० आईमा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । ओडिआईमा कुशलले तोड्नु अघि रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ९१ बलमा हानेका थिए ।

१२. रोहित र कुशलको १९ बलमै अर्धशतक

कुशल र रोहितले १९ बलमा अर्धशतक पूरा गरेका थिए । नेपालबाट सर्वाधिक छिटो टि२० आई अर्धशतक हो । यसअघि टि२० आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक ज्ञानेन्द्र मल्लले २०१९ मा मलेसियाविरुद्ध २० बलमा प्रहार गरेका थिए ।

त्यस्तै ओडिआईमा गत मार्चमा आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा हानेका थिए । नेपालको इतिहासमै भने ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध १८ बलमा पूरा गरेका थिए ।

११. दीपेन्द्रको ७ अर्धशतक

दीपेन्द्रको यो सातौं टि२० आई अर्धशतक हो । योसँगै टि२० आईमा नेपालबाट उनी सर्वाधिक धेरै अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन् ।

१०. १२ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी

कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे । उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन् । गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए । आफ्नो उक्त कीर्तिमान तोडेका हुन् । टि२० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए ।

९. नेपाली ब्याटरको उच्च साझेदारी

तेस्रो विकेटका लागि कुशल र रोहितले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो विश्व कीर्तिमानी साझेदारी हो । नेपाली ब्याटरले गरेको यो कुनैपनि खेलको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा गत जुनमा जिम्बावेविरुद्ध आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए । टि२० आईमा २०१९ मा आरिफ शेख र पारस खड्काले १ सय ४५ रनको साझेदारी दोस्रो विकेटका लागि गरेका थिए ।

८. कुशल एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर

कुशल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन् ।

७. नेपालको उच्च योगफल

यो नेपालले बनाएको उच्च योगफल हो । यसअघि टि२० आईमा नेपालले २०२१ मा मलेसियाविरुद्ध २ सय ३८ र ओडिआईमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो । ओडिआईमा उच्च जित गत मार्चमा युएईविरुद्ध १ सय ७७ रन थियो । टि२० आईमा २०२१ मा नेदरल्यान्ड्सविरुद्ध १ सय ४३ रनको जित थियो ।

६. तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।

टि२० इतिहासमा यो आठौं ठूलो साझेदारी हो । टि२० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

५. टि२० आईकै सर्वाधिक छिटो शतक

कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

४. दीपेन्द्रको दुर्लभ अर्धशतक

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२, ओडिआईमा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले १६ र टेस्टमा पाकिस्तानका मिस्बाह उल हकले २१ बलमा अर्धशतक पूरा गरेका थिए । यो कीर्तिमान सम्भव त अव तोडिने छैन ।

३.टि२० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

२. एकै खेलमा इनिङमा सर्वाधिक छक्का

नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

१. नेपाल टि२० आईमा ३ सय रन बनाउने पहिलो टोली

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।