२० बैशाख २०८१, बिहीबार

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका पाँच विश्व कीर्तिमान

NEP vs MON

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो ।

नेपालले दिएकाे ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव १ ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाका लागि दावासुरिन ज्यामानसुरिनले १० रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

मंगोलियाका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए । नेपालका करन केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनकाे विशाल याेगफल खडा गरेकाे थियाे ।

विस्फाेटक ब्याटिङ गरेका नेपालका कुशल मल्लले नटआउट १ सय ३७ रनको इनिङ्स खेले । नेपालका कप्तान राेहितकुमार पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाए ।

नेपालले मंगोलियाविरुद्धको एउटै खेलबाट पाँचवटा विश्व कीर्तिमान बनाएको छ ।

नेपालले बनाएका पाँच विश्व कीर्तिमानहरु

सबैभन्दा धेरै रनको योगफल

नेपालले टी-२० क्रिकेटमा आज बनाएको ३१४ रनको स्कोर विश्वका कुनैपनि देशले बनाएका छैनन् । झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो।

नेपालले आज बनाएको उक्त स्कोरले अफ्गानस्थानले आयरल्याण्डविरुद्ध बनाएको २७८ रनको स्कोरको कीर्तिमान तोडिएको छ । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।

कुशल मल्लको विश्व कीर्तिमान

मंगोलियाविरुद्धको खेलमा नेपाली अलराउन्डर कुशल मल्लले १३७ रनको अविजित पारी खेल्दै विश्व कीर्तिमान कायम गरेका छन् । टी २० क्रिकेटमा मल्लले बनाएको यो स्कोर सबैभन्दा ठूलो हो । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।

अहिलेसम्मकै फराकिले जितको कीर्तिमान

नेपालले दिएको ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव १ ओभरमा ४१ रनमा अलआउट भएपछि नेपालले २७३ रनको शानदार जित हात पार्यो । यो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै फराकिले जित हो ।

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।

विष्फोटक ब्याटिङ गर्दै दीपेन्द्रले बनाए अर्को विश्व कीर्तिमान

मंगोलियाविरुद्धको खेलमा सबैभन्दा छिटो शतक कुशल मल्लले हानेजस्तै सबैभन्दा छिटो अर्धशतधक पूरा गर्ने कीर्तिमान अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा रहन गयो । दीपेन्द्रले आजको खेलमा विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।

दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए।

रोहित र कुशलको साझेदारी

मंगोलियाविरुद्ध कीर्तिमानी प्रर्दशन गर्ने क्रममा तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे।

कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो।

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे। रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए।

नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    सम्बन्धित समाचार...