२५ बैशाख २०८१, मंगलवार

पुरानो प्रेम सम्बन्ध लुकाउन कर्णले गरेका थिए आमा-छोरीको विभत्स हत्या

Karna Bahadur

गत भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका– २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिएपछि प्रहरीले अनुसन्धान थाल्यो ।

प्रारम्भमा ग्यास लिक भएर आगलागी भई उनीहरु जलेको आशंका गरिएको थियो, तर अनुसन्धान गर्दै जाँदा उनीहरुको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनकी छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यानकै सिद्ध कुमाख गाउँपालिका–२ खानीगाउँका २९ वर्षीय कर्ण बहादुर बस्नेत छन् ।

प्रहरीका अनुसार कर्ण बहादुर मृतक रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो ।

उनीहरुबीच परिचय हुँदा कर्ण विवाहित थिए भने रेवतीको विवाह भएको थिएन । दुईबीच फोन सम्पर्क, भेटघाट बाक्लिँदै गयो । त्यस क्रममा उनीहरुले अश्लील फोटो र भिडियोसमेत खिचेर राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यहीबीच कर्णबहादुर रोजगारीका लागि दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका–२ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् । कर्ण बहादुरले त्यो कुरा पचाएनन् । रेवतीको विवाहलाई कर्णले ठूलो धोका ठानेर इगोको रुपमा लिए ।

युवतीको विवाह भएपछि पनि उनीहरुबीचको सम्पर्क भने टुटेन । रेवतीको विवाह भएको दुई वर्षपछि फोन र फेसबुकबाट कुराकानी हुन थाल्यो । त्यसक्रममा कर्ण बहादुरले पहिले खिचेका अनैतिक सम्बन्धका तस्बिर तथा भिडियोहरु रेवतीलाई पठाए । अनि उनीहरुबीच मनमुटाव प्रारम्भ भयो । मनमुटाव यति बढ्यो कि कर्ण बहादुरले आमासहित नाबालिका शिशुको समेत हत्या गर्ने योजना बनाए ।

गत भदौ २७ गते कर्ण बहादुर दुबईबाट घर आइपुगे । घर आएको दुई दिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए । त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घरमा पुगे । प्रहरीका अनुसार कर्णबहादुर र रेवतीको घरको दुरी करिव २० किलोमिटर छ ।

रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा छन् । घरमा आमा–छोरीमात्रै बस्थे । कर्ण बहादुरकै वयान अनुसार राति करिब १० बजे उनी रेवतीको घरभित्र पसे र उनको कपडाले घाँटी कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

रेवतीको हत्यापछि कर्णबहादुर नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए । प्रहरीले सीआईबीको सहयोगमा अनुसन्धान गरेर कर्णबहादुरको संलग्नता पत्ता लगाएको हो । यसरी सात वर्षअघिको प्रेमको इगो साँध्न पागल प्रेमीले पूर्व प्रेमिका र उनकी छोरीको हत्या गरे ।

    सम्बन्धित समाचार...