७ जेष्ठ २०८१, सोमबार

निर्माताका रुपमा मायावीमा जोडिए निर्देशक चन्द्र पन्त

Chandra panta

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् ।

अभिनेता राज कटुवाल पनि यस फिल्मको निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।

झण्डै दुई दर्जन बढी फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका चन्द्रले भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’मार्फत निर्देशनमा पाइला चालेका थिए । उनले निर्देशन गरेको नेपाली फिल्म ‘माही’ हो भने हाल छायांकन चरणमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा पनि चन्द्रकै निर्देशन हेर्न सकिन्छ ।

यतिबेला यस फिल्मको छायाकंन गर्ने तयारी गर्दै निर्माण टिम र कलाकारहरु छायाकंन स्थल मुस्ताङ पुगेका छन् । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक भइरहेको छ ।

प्रेमकथा रहने यस फिल्मका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन्, भने अर्की मुख्य अभिनेत्रीका रुपमा करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले ‘लभ सब’ र ‘बाबु कान्छा’ पछि कुनै पनि फिल्ममा अभिनय नगरेर लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् । यस्तै, यसै फिल्मको एक मुख्य पात्रको रुपमा केही दिन अघि अभिनेता प्रशान्त ताम्राकार पनि अनुबन्धित भएका छन् । उनको भूमिका बारे निर्माण टिमले कुनै जानकारी खुलाएको छैन ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

    सम्बन्धित समाचार...