२० बैशाख २०८१, बिहीबार

रोमाञ्चक जित हात पार्दै श्रीलंका एसिया कपको फाइनलमा

pakistan vs sri lanka asia cup

साबिक विजेता श्रीलंका एसीसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै श्रीलंका फाइनल पुगेको हो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । वर्षाका कारण खेल प्रभावित हुँदा खेल ४२ ओभरमा छोट्याइएको थियो ।

पाकिस्तानका ओपनर फखार जमान ४ रन मै आउट भए । अब्दुल्लाह शफिकले ५२ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि शफिक र कप्तान बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर २९ रनमा आउट भए ।

मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाए । छैटौं विकेटका लागि इष्तिखर अहमदले ४७ रन बनाउँदा रिजवानसँग ७८ बलमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । श्रीलंकाका मथिसा पाथिरानाले ३ तथा प्रमोद मदुशानले २ विकेट लिए ।

डीएलएस पद्धति अनुसार जितका लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले खेलको अन्तिम बलमा ८ विकेट गुमाउँदै नतिजा आफ्नो पक्षमा पार्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए ।

श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा जमान खानको बलमा चरिथ असंलकाले दुई रन नै बटुल्दै जित पक्का गरे । असलंकाले ४९ रनको अविजित इनिङ खेले । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । सदिरा समाराविक्रले ४८ को योगदान दिए ।

जितसँगै श्रीलंका सबैभन्दा धेरै पटक एसिया कपको फाइनलमा पुग्ने टोली बनेको छ । ऊ १२ पटक फाइनलमा पुगेको छ । पाकिस्तानका इष्तिखर अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।

सुपर फोरको अन्तिम खेलमा शुक्रबार बंगलादेश र भारत प्रतिस्पर्धा गर्दै छन् ।

    सम्बन्धित समाचार...