२० बैशाख २०८१, बिहीबार

भारतसँग पाकिस्तानको फराकिलो हार

india pakistan

भारतले एसिया कपको ‘सुपर फोर’मा पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

वर्षाका कारण सोमबार सुरु भएर गएराति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको विशाल अन्तरले पराजित गरेको हो । यो पाकिस्तानका लागि एसिया कपमा सबैभन्दा बढी र समग्रमा दोस्रो ठूलो रन अन्तरको पराजय हो ।

कोलोम्बोमा सहआयोजक पाकिस्तानले टस जितर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो ।

आइतबार वर्षाको कारण भारतले २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । मंगलबारको खेल सोही अवस्थाबाट सुरु भएको थियो ।

भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले १६ दशमलव ४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कप्तान रोहित ५६ रनमा आउट भए । गिल ५८ रनमा आउट भए । विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ्स खेले । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १३ हजार रनसमेत पूरा गरे । २ सय ७७ इनिङमा १३ हजार रन पूरा गरेका कोहलीले सबै भन्दा छिटो ८ देखि १३ हजार रन बनाएका छन् ।

लोकेश राहुल १ सय ११ रनमा अविजित रहे । तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित साझेदारी गरेका थिए ।

पाकिस्तानका शादब खान र शाहिन शाह अफ्रिदीले १–१ विकट लिए । हरिस रौफले चोटका कारण रिजर्व डेमा बलिङ गर्न नसक्दा पाकिस्तानले ठूलो नोक्सानी बेहोर्नु पर्‍यो ।

जवाफमा जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।

पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३–२३ रन बनाए । ओपनर फखार जमान २७, इमाम उल हक ९, बाबर आजम १० र मोहम्मद रिजवान २ रनमा आउट भए । भारतका स्पिनर कुलदीप यादवले ५ विकेट लिए ।

सुपर फोरमा भारतको यो पहिलो खेल थियो । यस जितले फाइनल सम्भावना मजबुत बनेको छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । भारतले आजै श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

    सम्बन्धित समाचार...