१९ बैशाख २०८१, बुधबार

‘एमालेले मणि गुमायो’

subashchandra nemwang

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण देशले अत्यन्त महत्त्वपूर्ण नेता गुमाएको बताएका छन् ।

‘सुवासजी नेपालको सूर्योदय हुने स्थानमा जन्मेर सिंगै देशलाई उज्यालो बनाउन ५० वर्षदेखि अघि बढेको व्यक्तित्व हो । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र सामाजिक न्यायका लागि उहाँले विभिन्न ओहदामा बसेर काम गर्नुभयो । उहाँको निधनले यो देशले अन्त्यन्त महत्त्वपूर्ण व्यक्ति गुमाएको छ, एमालेले मणि गुमाएको छ । स्वदेश र विदेशमा बसेका सबै नेपालीले उहाँलाई आदरणीय र सम्मानित नेताका रुपमा सम्झना गर्नेछन्,’ ‘नेपाली बहस’सँग उनले भने ।

नेता बडालले नेम्वाङ संविधानसभा अध्यक्ष नभएको भए वा एकतर्फी रुपमा मात्र सोच्ने नेता भएको भए दोस्रो पटक पनि संविधान नबन्ने स्थिति देखिएको स्मरण गरे । उनले भने, ‘विश्वका २७ वटा देशमा संविधानसभाबाट संविधान बनेको छ । तर नेपालमा दुईदुई पटक संविधानसभा बन्यो । देशी, विदेशीको शक्तिको दबाब, त्रास र आफ्नै समुदायका मानिसको हमलाबाट पनि उहाँ विचलित हुनुभएन । सिंगै राष्ट्रको पक्ष लिए बापत पटक पटक हमला र अपमानको विष पनि पिउनुभयो । उहाँको सन्तुलित र समन्वयकारी व्यक्तित्वका कारण संविधान बनेको तथ्य हामीले बिर्सेका छैनौं । कुनै पनि दलले त्यस्तो खालको व्यक्तित्व पाउँदैन ।’

नेम्वाङको निधनले आफूलाई अचानक वज्र परेजस्तो भएको पनि बडालले बताए । उनले भने, ‘हर्टअट्याक भएपछि मलाई साथीहरुले खबर गर्दैनन् । त्यसैले बिहान चार बजेपछि मात्र थाहा पाएँ । अस्पतालमा तँ नआइज भने साथीहरुले । पार्टी कार्यालयमा जान्छु । मलाई अचानक वज्र परेजस्तो भएको छ । बालुवाटारमै घर भए पनि उहाँले उपचारका निम्ति एक मिनेट पनि समय पाउनुभएन ।’

आफूलाई आमाबाबु गुमाउँदा भन्दा बढी पीडा भएको पनि बडालले सुनाए । उनले भक्कानिँदै भने, ‘सुवासजीबाट सिकौं, उहाँ राष्ट्रिय व्यक्तित्व हो । उहाँले कहिले पनि कुनै एउटा दर्शन, पार्टी, क्षेत्र, जाति वा लिंगका आधारमा हेर्नुभएन । केही दिन पहिले संसद् अवरुद्ध हुँदा स्थायी समितिको बैठकमा मैले विरोधको स्वरुप बदल्नुपर्ने कुरा राख्दा उहाँले म तपाईंको भावनालाई कोसिस गर्छु भन्नुभएको थियो । व्यक्तिगत रुपमा म उहाँलाई राष्ट्रपति भएको हेर्न चाहन्थें । तर सकिएन । मैले आमाबुबा गुमाएँ, तर सुवासजीजस्तो साथी गुमाउँदा एकदमै गाह्रो भइरहेको छ ।’

    सम्बन्धित समाचार...