१९ बैशाख २०८१, बुधबार

कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

uddab thapa

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको धारा १६८ को ३ अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै अब नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ ।

कोशी प्रदेशमा एमाले ठूलो दल हो । एमालेका ४० सदस्य छन् । यस्तै नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन् । बहुमतका लागि ४७ सदस्य आवश्यक पर्नेमा एक सिटका कारण सत्ता पक्ष र एमाले दुवैतर्फ बहुमत नजुट्ने अवस्था आएपछि कोशीमा राजनीतिक अस्थिरता देखापरेको हो ।

सुरुमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए । पछि कांग्रेसका थापा मुख्यमन्त्री बनेका थिए । थापालाई सभामुखको समेतले मत दिएपछि यहाँको राजनीतिक खिचलो अदालतसम्म पुगेको थियो ।

    सम्बन्धित समाचार...