
एसिया कप क्रिकेटअन्तर्गत नेपाल भारतबीचको केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
श्रीलंकाको पेल्लेकेले मैदानमा भारतले टस जितेपछि भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बाट सुरु हुनेछ ।
समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।
भारतविरुद्ध नेपालको प्लेइङ-११: भीमले मौका पाउँदा आरिफ बेञ्चमा
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरेको छ। आरिफ शेखको स्थानमा भीम सार्की टिममा समावेश छन्।
यस्तो छ भारतविरुद्ध नेपालको प्लेइङ-११- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, भीम सार्की, सोमपाल कामी।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।
नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।
समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।