१९ बैशाख २०८१, बुधबार

बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो-जथाभावी वक्तव्यबाजी नगर्नू

balen
फाइल फोटो

काठमाडौं महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने मेयर बालेन्द्र शाहको अभिव्यक्तिप्रति जिल्ला प्रशासन कार्यालय काठमाडौले आपत्ति जनाएको छ । मेयर बालेन्द्रको वक्तव्य लक्षित गर्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै जथाभावी वक्तव्यवाजी नगर्न आग्रह गरेका छन् ।

राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा विचार व्यक्त भएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । सार्वजनिक बिदाका दिन काठमाडौं महानगरपालिकाको गाडीलाई प्रहरीले रोकेपछि मेयर बालेन्द्रले सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण अभिव्यक्ति (स्टाटस) सार्वजनिक गरेका थिए ।

महानगरपालिकाका मेयरको सचिवालयले हिजो (आइतबार) विज्ञप्ति जारी गरेर ट्राफिक प्रहरीले गाडी रोकेर अनावश्यक सोधपुछ गरेको आरोप लगाएपछि आज (सोमबार) जिल्ला प्रशासन कार्यालयले त्यसको खण्डन गरेको हो । विज्ञप्तिमा दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधनको निगरानी जिल्ला प्रशासन कार्यालयहरुमार्फत हुँदै आएको उल्लेख छ । सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा काठमाडौं महानगरपालिकाको गाडीको जाँचबारे भने केही भनिएको छैन । विज्ञप्तिमा असल मनसायले भएका काममा बाधा नपुर्याउन आग्रह गरिएको छ ।

‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहायक प्रजिअ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यवाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा प्रशासनले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको उल्लेख छ । ‘प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

KTM CDO office

    सम्बन्धित समाचार...