२० बैशाख २०८१, बिहीबार

भारत र पाकिस्तानले अंक बाँडे

india vs pakistan

एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै दुवै टिमले १-१ अंक बाँडेका छन् ।

श्रीलंकाको क्यान्डीमा टस हारेर पहिला बलिङको निम्तो पाएको पाकिस्तानले २६७ रनको लक्ष्य पाएको थियो । वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन सकेन ।

यसअघि पहिला ब्याटिङ रोजेको भारतका माथिल्लो क्रमका चार ब्याटर सस्तैमा पवेलियन फर्किएका थिए । शाहिन अफ्रिदीले उत्कृष्ट बलिङ गर्दै कप्तान रोहित शर्मालाई ११ रनमा आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।

अर्का स्टार खेलाडी विराट कोहली पनि उनकै बलमा मात्र ४ रन जोडेर मैदान बाहिरिए । एकै इनिङ्समा रोहित र विराटलाई बोल्ड गर्ने अफ्रिदी पहिलो बलर हुन् । श्रेयस ऐअरले १४ र शुभम गिलले १० रन मात्र बनाउन सके ।

६६ रनमा ४ विकेटको स्थितिमा रहेको भारतको इनिङ्सलाई इशान किशान र हार्दिक पाण्डेयाले अघि बढाए । यी दुईले पाँचौ विकेटका लागि १३८ रनको महत्वपूर्ण साझेदारी गरे । दबाबमा जिम्मेवारीपूर्ण ब्याटिङ गरेका इशानले ८२ रन बनाए । ८१ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरेका थिए । हरिस रौफले इशान र हार्दिकको साझेदारी तोडेका हुन् ।

हार्दिक पाण्डेया ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८७ रन प्रहार गरे भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् ।

पाकिस्तानका लागि अफ्रिदीले सर्वाधिक ४ विकेट लिए । नसेम शाहले र हरिस रौफले समान ३-३ विकेट लिए ।

खेल रद्द भएलगत्तै सँगै यसले नेपालका लागि पनि सुनौला अवसर सिर्जना भएको छ । नेपाल र भारतबीच भोलि सोमबार खेल हुँदैछ । पल्लेकेल इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा नेपालले ठूलो उलटफेर गर्यो भने भारत प्रतियोगिताबाट बाहिरिने छ भने नेपाल सुपर–४ मा पुग्ने छ । तर, नेपालको हार अथवा वर्षाले यो खेल पनि रद्द भयो भने भारतको सुपर–फोरको यात्रा निश्चित हुनेछ ।

शनिवारको खेलमा भारतका इशान किशन तथा हार्दिक पाण्ड्याको संयमित ब्याटिङमा भारतले सम्मानजनक योगफल तयार पारेको थियो ।

    सम्बन्धित समाचार...