१७ बैशाख २०८१, सोमबार

माओवादी सांसदको खुलासाः प्रधानमन्त्री र राप्रपाबीच कोशीमा सरकार बनाउन सहयोग गर्ने भद्र सहमति छ

Lekhnath Dahal
फाइल फोटो

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङदेनबिच भद्र सहमति भएको बताएका हुन्।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको बताए। उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको बताए। उनले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने पनि बताए।

‘कोशी प्रदेशमा विकल्प भनेको निर्वाचन हो। मध्यावधि निर्वाचनमा जानको निम्ति अर्थतन्त्रको हिसावले अर्बौँ खर्च हुने यो अहिले हाम्रो मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोशी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नको निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो,’ उनले भने, ‘राप्रपा पनि कोशी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचन भन्दापनि अहिलेको जुन समस्या छ त्यो समस्या हल गर्न उहाँहरु सहमत भइसकेपछि मुख्यतः माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो। प्रधानमन्त्रीज्युसँग भद्र सहमति भएको छ, संघीय संसदमा पनि उहाँहरुको भुमिका प्रभावकारी हुने। संसदीय भुमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगि भुमिका हुने र कोशी प्रदेशमा सरकार निर्माणमा उहाँहरुले सहयोग गर्ने भद्र सहमति अनुरुप नै हामीले संसदीय समिति दिएका छौँ।’

उनले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताए।

    सम्बन्धित समाचार...