१७ बैशाख २०८१, सोमबार

काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान आजदेखि सुरु

nepal airlines bhairahwa B5jIZClcak

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ ।

अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–दिल्ली र काठमाडौँ–हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको हो ।

उनले भने “भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ । यस अन्तर्गत पहिलो उडानका व्रmममा निगमले आज बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौँ आउने छ ।” उनले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौँ आउने बताए ।

अहिले निगमले काठमाडौँ–मलेसिया–भैरहवा रुट बनाएर उडान गरिरहेको छ । निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँबाट मलेसिया पुगेको छ । उक्त जहाज आज मलेसियाबाट भैरहवा आउने छ । उनका अनुसार भैरहवा–हङकङ र भैरहवा–दिल्ली उडानको लागि टिकट खुला भइसकेको छ । सोमबारबाट यो रुटको उडानका लागि टिकट बुकिङ सुरु भएको हो ।

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन । निगमले काठमाडौँ–दिल्ली–भैरहवा हुँदै काठमाडौँ उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो । अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन ।

    सम्बन्धित समाचार...