चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गराएर विश्वस्तरमै प्रशंसा बटुलेको भारतले अब सूर्यको अनुसन्धानका लागि एक साताभित्रैमा उपग्रह प्रक्षेपण गर्ने भएको छ ।
भारतीय अन्तरिक्ष संस्था इसरोले आगामी शनिबार अर्थात सेप्टेम्बर २ मा ‘आदित्य एल वन’ मिसन प्रक्षेपण गर्ने घोषणा गरेको छ । शनिबार बिहान ११ बजेर ५० मिनेटमा आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतिश धवन स्पेस सेन्टरबाट उपग्रह प्रक्षेपण गरिने इसरोले जनाएको छ ।
सूर्यको अध्ययनका लागि भारतले पठाउन लागेको यो उसको पहिलो अन्तरिक्ष अब्जरभेटरी हो । यो उपग्रहलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा रहेको एल वन कक्षमा स्थापना गरिनेछ । यो दूरी पृथ्वीदेखि चन्द्रमासम्मको दूरीभन्दा करिब चार गुणा बढी हो । एल वन कक्षमा रहेर उक्त यानले सूर्यको अध्ययन गर्नेछ । यहाँ रहेर यो अन्तरिक्ष यानले बिना कुनै ग्रहण सूर्यको निरन्तर अनुगमन गर्न सक्ने जनाइएको छ ।
यो अन्तरिक्ष यानले सूर्यको कोरोनाबाट निस्किने गर्मी र तातो हावाको अध्ययन गर्ने जनाइएको छ । यसका साथै यस यानले सौर्य आँधीको कारण, सौर्य लहर र यसले पृथ्वीको वायुमण्डलमा पार्ने असरबारे अध्ययन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।