ह्यारी केनको दुई गोलमा बायर्न विजयी

ह्यारी केनको दोहोरो गोलको सहयोगमा बायर्न म्युनिखले आउसबर्गलाई हराएको छ। बायर्नकै एलिनाज एरिनामा बायर्नले आउसबर्गलाई ३–१ गोलअन्तरले हराएको हो।
बायर्नलाई जित दिलाउन केनले दुई गोल गरे भने आउसबर्गकै फेलिक्स उडुओखाईले आत्मघाती गोल गरे। डिफेन्डर फेलिक्सले ३२ औँ मिनेटमा गोल बचाउने प्रयासमा आत्मघाती गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो।
त्यसैगरी ४० औं मिनेटमा बायर्नले पेनाल्टीको अवसर पायो । पेनाल्टीको अवसरमा केनले पहिलो गोल गरे। त्यसैगरी दोस्रो हाफको ६९ औं मिनेटमा अल्फोन्सो डेबिसको पासमा केनले दोस्रो गोल गर्दै बायर्नलाई ३–०को अग्रता दिलाएका थिए। ८६ औं मिनेटमा डियोन बेल्जोले एक गोल फर्काएपछि खेलको नतिजा ३–१ भएको हो।
गएरातिको जितसँगै ६ अंक जोडेको बायर्न बुन्डेसलिगाको दोस्रो स्थानमा छ। पराजित आउसबर्ग भने ११ औं स्थानमा छ। जर्मन शीर्ष डिभिजनको फुटबल लिगमा गएराति माइन्जले आइन्ट्राक्ट फ्रांकफर्टसँग १–१ को बराबरी खेलेको थियो। त्यसैगरी मोन्छेनग्लाडबाखले लिभरकुसनलाई ३–० ले हराएको थियो।