२२ बैशाख २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

thapa

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतले मतदान गरेपछि उनले विश्वासको मत पाएका हुन् । थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको छ ।

कोशी प्रदेशको प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसमेतको मतबाट नेपाली कांग्रेसका थापाले कोशीको मुख्यमन्त्रीमा सोमबार विश्वासको मत पाएका हुन् ।

थापाले विश्वासको मत लिने प्रयोजनका लागि लागि सोमबार कोशी प्रदेशसभाको बैठक बसेको थियो । बैठक सञ्चालन कोशी प्रदेशसभा अध्यक्षमण्डलका सदस्य इस्राइल मन्सुरीले गरेका थिए ।

उपसभामुख सिर्जना दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर विष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेश सभा बैठक बसेको थियो ।

उपसभामुख सिर्जना दनुवारले बिरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले गीता तिम्सिनालाई अध्यक्षता गर्न लगाएर मतदान गरेका हुन् ।

मन्सुरी मतदानमा गएपछि एमालेका प्रदेश सदस्यहरुले बैठकमा नाराबाजी गरेका थिए । नाराबाजीकै बीच मन्सुरीले मतगणना गराएका थिए ।

९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । यस्तै विपक्षमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सदस्य छन् ।

प्रदेश सभाका ९३ सदस्यमध्ये बैठकमा ७७ जना उपस्थित थिए । थापालाई मुख्यमन्त्रीको विश्वासको मतका लागि ४७ मत आवश्यक रहेकोमा उनको पक्षमा पनि ४७ मत नै प्राप्त भएको हो । भने विपक्षमा ३० मत पर्यो । तटस्थमा भने कुनै मत परेन ।

कोशी प्रदेशसभाको अर्को बैठक भदौ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित समाचार...