२२ बैशाख २०८१, शनिबार

बालुवाटार जग्गा प्रकरण : सीईआबीले लियो माधवकुमार र बाबुरामसँग बयान

baburam bhattarai and madhab kumar nepal

 बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । 

सीआईबीले आइतबार राति बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका निर्णयाधिकारीका रुपमा रहेका प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान लिएको हो।

ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईको बयान नलिएको भन्दै तीव्र आलोचना हुँदै आएको छ । व्यापक दबाब बढ्दै गएपछि सीआईबीले उनीहरुको बयान लिएको हो ।

यस प्रकरणमा संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन २०२० को कीर्ते सम्बन्धी कसुर लगाएर अनुसन्धान गरिरहेको सीआईबीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । नेपाल र भट्टराईको बयान नलिई सीआईबीले अनुसन्धान टुंग्याउन लागेको थियो । सीआईबीले दुई पूर्वप्रधानमन्त्रीको बयान लिएसँगै आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सीआईबीलाई बयान दिएका पूर्वप्रधामन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले सुरुदेखि गरेको सार्वजनिक प्रतिबद्धता बमोजिम कर्तव्य निर्वाह गरेको जनाएका छन् । उनले ट्विटरमा लेखेका छन् । ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा प्रश्नहरुबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’

साथै उनले यो मुद्दा सफल टुंगोमा पुगोस भन्दै देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दह्रो प्रस्थानबिन्दु बनोस भन्ने कामना गरेका छन् ।

    सम्बन्धित समाचार...