२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक आज पनि बस्दै

sarbadalye

सदनको अवरोध खुलाउने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पक‍मल दाहालले आह्वान गरेको सर्वदलीय बैठक आज पनि बस्दैछ ।

यसअघि हिजो बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक निष्कर्षविहीन भएपछि आज पनि बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बैठक बस्ने छ ।

हिजोको बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएको थियो ।

शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको जनाएका थिए । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गरेका थिए ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सदनको अवरोध खुलाउने विषयमा गम्भीर छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिएका थिए । सभापति लामिछानेका अनुसार गम्भीर एजेण्डा केन्द्रित रहेर छलफल भएको र सम्भवतः आज (सोमबार)को बैठकमा सहमति हुने विश्वास व्यक्त गरे ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको माग कायमै रहेको बताए । उनले सदनको अवरोध खुलाउन आफूहरु तयार भएपनि सरकारको तर्फबाट ल्याउने कार्यसूची अगाडि बढाउन भने तयार नरहेको संकेत गरे ।

उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा सहमति हुन नसक्दा हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ र नेता हितराज पाण्डे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । यस्तै, एमाले उपाध्यक्ष सुवास नेम्वाङ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायतको उपस्थिति थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।

    सम्बन्धित समाचार...