२ जेष्ठ २०८१, बुधबार

मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पारित गर्दै कित्ताकाट खुला, क्वार्ज क्रिस्टललाई गोरखा दरबारमा राखिने

cibinet new

सरकारले भूउपयोग नियमावली पारित गर्दै कित्ताकाट खुला गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‌ले यसअघि नियमावली संशोधन गर्न निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । भूमि व्यवस्था मन्त्रालयले पुन: संशोधन गरी ल्याएको नियमावली आजको बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ।

यस्तै सरकारले गोरखामा भेटिएको ढुंगा (क्वार्ज क्रिस्टल) लाई गोरखा दरवारमा राख्ने निर्णय पनि गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार ढुंगा संरक्षण गरेर राखेका परिवारलाई सरकारले उचित पुरस्कार दिने निर्णय गरेको छ । गोरखा नगरपालिका ७ स्थित चन्द्रमान शाहीको घरबाट चम्किलो ढुंगा फेला परेको थियो । पछि त्यसलाई जाँच गर्दा क्वार्ज क्रिस्टल रहेको प्रमाणित भएको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनीता साहलाई स्वागत र फिर्ता बोलाइएका मन्त्री अमनलाल मोदीलाई धन्यवाद दिने निर्णय गरेको छ ।

    सम्बन्धित समाचार...