२ जेष्ठ २०८१, बुधबार

राजेन्द्र पाण्डेको अभिव्यक्तिमा आम जनता पार्टी आक्रोशित

rajendra pandey
फाइल फोटो

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गौर हत्याकाण्ड उचाल्ने व्यक्ति आफैं चारवटा हत्याकाण्डको नाइके भनेको प्रति आम जनता पार्टी आक्रोशित बनेकोछ ।

आजपाले विरोध मात्र होइन, सरकारको धारणा मागेको छ । पाण्डेले भनेजस्तै हो भने प्रभु साहलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ कि पर्दैन ? गलत हो भने पाण्डेलाई कारवाही हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ ।

सत्तारुढ गठबन्धन नेपालमा भएका ठूल्ठूला काण्डमा मुछिएका ठूला नेतालाई उन्मुक्ति दिन दिलो ज्यान लगाएर उत्रिएको छ । सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकले गौर काण्डलाई स्टन्टका रुपमा उचालेको निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सञ्चारकर्मीसँगको कुराकानीमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको नाम नलिइ संगीन आरोप लगाउनुभएको छ । पाण्डेले साह चारवटा हत्याकाण्डमा मुछिएको बताइरहँदा गठबन्धनको बैठकमा यही विषय राम्रैसँग प्रवेश पाएको बुझ्न सकिन्छ ।

पाण्डेले सुरुमै गौर काण्ड उचाल्ने प्रभु साह आफैं काशी तिवारीसहित चार वटा हत्याकाण्डमा मुछिएको आरोप लगाउनुभएको यो दृश्य हेर्यौं । त्यसो भए प्रभु साहलाई किन उन्मुक्ति दिइयो ? प्रभु साह कसरी सांसद बन्न योग्य हुनुभयो ? यी प्रश्नहरु वर्तमान सरकार समक्ष सोझिएको छ ।

यो आरोपलाई आम जनता पार्टीले सहज लिएको छैन । पक्कै पनि सरकारको नेतृत्व गरिरहेका दलका नेताले आफ्ना अध्यक्षमाथि लगाएको संगिन आरोपमा आजपाले जवाफ खोज्नु स्वभाविक हो । आजपा क्रुद्ध छ । विज्ञप्ती नै निकालेर आधारहिन कपोकल्पित र भ्रम फैलाएर गौर हत्याका पीडित परिवारलाई न्याय दिननखोजेको आरोप पनि आजपाले लगाएको छ । आजपाले सत्तागठबन्धनकै धारणा हो वा पाण्डेको व्यक्तिगत धारणा हो प्रष्टता खोजेको छ ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन माओवादी र मधेशी जनधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जना घटनास्थलमा र १ जना उपचारका क्रममा मारिएका थिए । त्यस घटनाबारेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा तत्कालीन फोरमले कार्यक्रम गरेकै स्थानमा माओवादीको मधेशी मोर्चाले पनि कार्यक्रम गर्दा विवाद भइ घटना हिंसात्मक बनेको उल्लेख छ ।

सरकारका तर्फबाट पनि २ वटा छानबिन आयोग बनेको थियो, माओवादीले पनि आन्तरिक समिति बनाएको थियो । ति प्रतिवेदनहरु सार्वजनिक भएनन् । पीडितले न्याय नपाएकोभन्दै केही समयदेखि उनीहरु प्रदर्शनमा थिए । उनीहरुको माग सम्बोधन गर्न साउन २३ गते सरकारले छानबिन गर्न सहमति जनाएको थियो । तर, तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव अहिले जनता समाजवादी पार्टी जसपाको अध्यक्ष हुनुहुन्छ ।

उहाँसमेत तानिने भएपछि सरकार ढाल्ने चेतावनीसँगै घटनाको छानबिन नहुने अवस्था आएको छ । यो प्रकरणमा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको अभिव्यक्तिले प्रभु साहलाई चारवटा हत्याका नाइके भनेपनि राजनीति तरंगित बनेको छ । साहमाथि जघन्य अपराधको आरोप लाग्दा छानबिन हुन्छ कि हुँदैन ?

    सम्बन्धित समाचार...