२२ बैशाख २०८१, शनिबार

ट्रम्प माथी फेरी अर्काे मुद्दा दायर, यस बर्ष मात्रै चारवटा पुगे

trump
फाइल फोटो

अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता भएको छ । चार महिना अवधिमा ट्रम्पविरुद्ध दर्ता गरिएको यो चौथो फौजदारी मुद्दा हो ।

२०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको परिणाम उल्टाउने प्रयास गरेको आरोपमा उक्त राज्यमा ट्रम्पसहित १९ जनाविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको हो । यसअघि राष्ट्रपतीय निर्वाचनको समग्र परिणाम उल्टाउने षड्यन्त्र गरेको अभियोगमा ट्रम्पविरुद्ध वासिंटनस्थित संघीय अदालतमा एक अर्को फौजदारी मुद्दा चलिरहेको छ ।

त्यस्तै ट्रम्पविरुद्ध सरकारी गोप्य कागजातको व्यवस्थापनमा लापरबाही गरेको र पोर्न स्टारलाई दिएको रकमसम्बन्धी मामिलामा फौजदारी मुद्दा चलिरहेका छन् । दर्ता गरिएको ताजा फौजदारी मुद्दामा ट्रम्पमाथि जर्जियाको धोखाधडी कानुनको उल्लंघन गरेको, सार्वजनिक ओहोदामा बसेका अधिकारीहरुलाई उनीहरुले लिएको शपथ उल्लंघन गर्न भड्काएको, ठगीका लागि षड्यन्त्र गरेको, झुटा बयान र झुटा कागज पेस गरेकोलगायत १३ अभियोग लगाइएका छन् । यी आरोपमध्ये धोखाधडी कानुनको उल्लंघन गरेको आरोप सबैभन्दा गम्भीर हो । यसमा दोषी ठहर भए अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।

ट्रम्पसँग उनको सहयोगीका रुपमा अभियुक्त बनाइएका अन्य १८ जनामा ट्रम्पका पूर्वकानुन व्यवसायी रुडी गिलानी, हृवाइट हाउसका पूर्वचिफ अफ स्टाफ मार्क मिडोजलगायत छन् ।

जर्जिया राज्यकी जिल्ला न्यायाधिवक्ता फ्यानी विलिसले ट्रम्प र अन्य आरोपितलाई २५ अगस्त शुक्रबार दिउँसो १२ बजेसम्ममा स्वेच्छाले आत्मसमर्पण गर्न चेतावनी दिएकी छिन् । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुन: उम्मेदवारीको घोषणा गरेका ट्रम्पले भने विलिस डेमोक्र्याट भएको र उनका आरोप राजनीति प्रेरित भएको बताएका छन् ।

२०२० को राष्ट्रपतीय निर्वाचनमा एउटा महत्त्वपूर्ण ब्याटलग्राउन्ड स्टेटका रुपमा हेरिएको जर्जियामा ट्रम्प आफ्ना प्रतिस्पर्धी बाइडनसँग झिनो मतान्तरले पराजित भएका थिए ।

    सम्बन्धित समाचार...