३ जेष्ठ २०८१, बिहीबार

आठ घण्टापछि एकतर्फी सञ्चालन सिद्धार्थ राजमार्ग

si

अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आठ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, भुतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो आइतबार राति पौने १२ बजे खसेको थियो ।

प्रहरीकाअनुसार सडक डिभिजन कार्यालयले बिहान ५ बजेदेखि डोजर लगाएर पहिरो पन्छाउने काम गरेको भएपनि दुईतर्फी सञ्चालन हुन भने अझै चार घण्टा लाग्ने छ ।

पहिरो खसेपछि बिच बाटोमै रोकिएका सवारी साधनलाई दुईतर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोसँगै रुख, ढुंगा, माटो पनि खसेकाले पन्छाउन समय लागेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका थिए । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका दैनिक १० हजार सवारी साधन सञ्चालन हुन्छन् ।

    सम्बन्धित समाचार...