२२ बैशाख २०८१, शनिबार

क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबीच सम्बन्ध विच्छेद

canada

क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी धर्मपत्नी सोफी कानुनी रुपमा छुटि्टएका छन् ।

ट्रुडो दम्पतीले बुधबार अर्थपूर्ण र कठिन संवादपछि १८ वर्ष लामो वैवाहिक जीवन यात्रा तोड्दै आफूहरु छुटि्टन लागेको घोषणा गरेका हुन् । दुवैले छुटि्टए पनि आफूहरु गहन प्रेम र सम्मानसहितको निकटतम परिवारका रुपमा रहने बताएका छन् ।

ट्रुडोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै छुटि्टने सम्झौता पत्रमा हस्ताक्षर गरेपनि दुवै जना सार्वजनिक समारोहमा सँगै देखा पर्ने जनाएको छ । विज्ञप्तिमा आगामी साता एउटा परिवारकै रुपमा उनीहरु बिदा मनाउन जानेसमेत उल्लेख गरिएको छ । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफी ग्रेग्वायरबीच सन् २००५ को मेमा विवाह भएको थियो भने उनीहरुका तीन सन्तान छन् । दुवैले आफ्ना सन्तानहरु १५ वर्षीय जेभियर, १४ वर्षीय एला र नौ वर्षीय हृयाड्रिएनको भलाइका लागि व्यक्तिगत जीवनमा हस्तक्षेप नगरी दिन आग्रह गरेका छन् ।

सन् २०१५ को नोभेम्बरमा ट्रुडो प्रधानमन्त्री भएयता सामाजिक समारोह तथा विदेश यात्रामा दुवै जना प्रायसँगै देखा पर्ने गरेका थिए । तर पछिल्ला वर्षमा भने सोफी आफ्ना श्रीमानसँग निकै कम देखा पर्ने गरेकी थिइन् । यही मे महिनामा बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्यारोहण समारोह सहभागी हुन दुवै जनासँगै लन्डन गएका थिए । यस्तै मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेन क्यानडा आउँदा दुवै जनासँगै देखा परेका थिए ।

पदमा रहँदै छुटि्टन लागेको घोषणा गर्ने ट्रुडो क्यानडाका दोस्रो प्रधानमन्त्री हुन् । यस्तो घोषणा गर्ने पहिलो प्रधानमन्त्री भने उनकै बुवा थिए । सन् १९७७ मा उनका पिता पियरे ट्रुडो र आमा मार्गरेट ट्रुडोले ६ वर्षे वैवाहिक यात्रा तोड्दै छुटि्टने घोषणा गरेका थिए । पछि दुवै जनाबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको थियो ।

    सम्बन्धित समाचार...