२२ बैशाख २०८१, शनिबार

डोनाल्ड ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता

trump
फाइल फोटो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध २०२० को राष्ट्रपति निर्वाचनको परिणाम उल्ट्याउने दुष्प्रयास गरेको अभियोगमा वासिङ्गटनस्थित संघीय अदालतमा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ ।

अदालतले ट्रम्पलाई भोलि (बिहीबार) न्यायाधीश समक्ष उपस्थित हुन आदेश दिएको छ । ट्रम्पमाथि राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको विजय प्रमाणित गर्ने कार्य गर्नबाट संसदलाई रोक्ने प्रयास गरेर अमेरिकालाई ठग्ने षडयन्त्र गरेको, मतदातालाई स्वच्छ निर्वाचनको अधिकारबाट वञ्चित गर्ने प्रयास गरेको लगायतका चार आरोप लगाइएका छन् । केही महिनाको अन्तरालमा पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको यो तेस्रो पटक हो ।

सन् २०२० को निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि निर्वाचनमा व्यापक धाँधली भएको भन्ने मिथ्या दाबी गर्दै तत्कालीन उपराष्ट्रपति माइक पेन्स लगायतका अधिकारीमाथि परिणाम उल्टाउन दबाब दिएको र आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न उक्साएर अमेरिकी लोकतन्त्रको अवमूल्यन गर्न खोजेको ट्रम्पविरुद्ध दर्ता गरिएको ४५ पेज लामो अभियोग पत्रमा उल्लेख छ ।

राष्ट्रपतीय निर्वाचनको परिणाम प्रमाणित गर्न संसदको संयुक्त बैठक बसिरहेका बेला सन् २०२१ को जनवरी ६ मा ट्रम्प समर्थकहरुले संसद भवनमा आक्रमण गरेका थिए । उक्त आक्रमणका क्रममा पाँच जनाको मृत्यु भएको थियो ।

संसद भवनमाथि भएको घटनाको विशेष अभियोजक ज्याक स्मिथले अनुसन्धान गरिरहेका छन्। सरकारी गोप्य कागजातको उचित व्यवस्थापन नगरेको आरोपको अनुसन्धान पनि स्मिथले नै गरेका थिए भने उक्त अभियोगमा ट्रम्प विरुद्ध गत जुनमा फौजदारी मुद्दा दर्ता गराएका थिए । यस्तै ट्रम्पविरुद्ध गत मार्चमा व्यावसायिक ठगी सम्बन्धी अभियोगमा फौजदारी मुद्दा दर्ता गरिएको थियो ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुन: प्रतिष्पर्धा गर्ने घोषणाका साथ चुनावी अभियान चलाइरहेका ट्रम्पले भने आफूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यका साथ झुठो अभियोग लगाइएको जनाउँदै आएका छन् ।

विशेष अधिवक्ता  ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाएका आरोप यस्ता छनः

– अमेरिकालाई धोका दिने षडयन्त्र
– सरकारी कामकाजमा अवरोध गर्ने षड्यन्त्र
– आधिकारिक कार्यमा अवरोध
–  सरकारी काममा बाधा पुर्‍याउने प्रयास
– अधिकारीहरु विरुद्ध षड्यन्त्र

रिपोर्टका अनुसार ट्रम्प यस मुद्दामा बिहीबार वाशिंगटन डीसीको संघीय अदालतमा उपस्थित हुनेछन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य कागजातको विषयमा सरकारसँग लड्ने तयारीमा छन् । उनीहरूले मार ए लागो प्रकरणमा गोप्य कागजातहरू हेर्न माग गरिरहेका छन्। उनले आफ्नो वकिलमार्फत मानक प्रोटोकललाई चुनौती दिएका छन्। यस मामिलामा ट्रम्पविरुद्ध गलत तरिकाले गोप्य कागजातहरू आफूसँग राखेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

हालै ट्रम्पमाथि गोप्य कागजातको विषयमा नयाँ आरोप लगाइएको छ । ट्रम्पले आफ्ना सहयोगीहरूसँग मिलेर आफ्नो रिसोर्ट मार ए लागोको सिसिटिभी फुटेज मेटाएको थप आरोप पनि लगाइएको छ। यद्यपि, ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै सरकारलाई आफूलाई फसाएको जनाउँदै आएका छन् ।

    सम्बन्धित समाचार...