२२ बैशाख २०८१, शनिबार

भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय

vetnam e1690643188116

भियतनाममा भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ ।

कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो । सरकारी अखबार भीटीसीका अनुसार यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको छ ।

अदालतले २५ सरकारी अधिकारीलाई ७४ लाख डलर घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ । जसमा पूर्वउप-परराष्ट्रमन्त्री टो आन डुङ समेत छन् । उनले उद्धार उडान सञ्चालन गर्ने विमान कम्पनीबाट ९ लाख ८ हजार डलर घुस लिएको पाइएको छ । उनलाई १६ वर्ष जेल सजाय तोकिएको छ । तर उनले आफूले उडानका लागि विमान कम्पनीहरुलाई सहजीकरणमात्र गरेको भन्दै कुनै गलत काम नगरेको जिकिर अदालतसमक्ष गरेका थिए ।

यस्तै परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका ४ उच्च अधिकारीलाई आजीवन जेल सजाय सुनाइएको छ । व्यवसायीहरुलाई सरकारी अधिकारीलाई घुस दिएको आरोप लागेको थियो । कोरोना महामारीका बेला भियतनामले ६० मुलुक तथा क्षेत्रबाट आफ्ना नागरिकलाई ल्याउन ८ सय वटा चार्टर उडान गरेको थियो । सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेयता सयौं सरकारी अधिकारीमाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा गत जनवरीमा भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति गुयेन सुआन फुक र दुई उपप्रधानमन्त्रीले राजीनामा दिएका थिए ।

    सम्बन्धित समाचार...