१ जेष्ठ २०८१, मंगलवार

सुन तस्करी प्रकरणका मालिकलाई जोगाउन खोजियोः रवि लामिछाने

rabi
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । आज (शनिबार) पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुन तस्करी प्रकरणमा निश्पिक्ष छानविन नगर्ने हो कि भन्ने आशंका बढेको बताए ।

सुन तस्करी प्रकरणलाई छोडेर सरकारले अर्को फाईल खोल्दै त्यसलाई मोड्न सक्ने सम्भावना बढेको उनको भनाई छ । ‘सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका बढेको छ । ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिन्थ्यो,’– उनले भने ।

सुन समाउन सक्नेले मालिक पत्ता लगाउन र समाउन नसक्नु आश्चर्यजनक कुरा भएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपामा आवद्ध हुँदैमा कोही पनि २०८४ सालका लागि पक्का उम्मेदवार नहुने कुरा उनी आफ्ना शुभेच्छुकलाई सम्झाउँदै थिए ।

‘रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन’, लामिछानेले भने, ‘कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ ।’

उनले पछिल्लो समय रास्वपा प्रवेश गरेका ‘आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो’ भन्नेहरूलाई उद्धृत गर्दै त्यसैका लागि हो भने रास्वपासँगको यात्रा लामो नरहने संकेत पनि गरे । ‘कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन’, लामिछानेले भने ।

सभापति लामिछानेले सही नेतृत्व छान्न सके मात्रै ‘मिसन ८४’ सम्भव हुने बताए । उनले भने, ‘नारा त यो देशमा सबैले लगाउँछन् । नारा ठीक भएर भएन, पारा ठीक हुनुपर्छ ।’

    सम्बन्धित समाचार...